ओमिक्रोन भेरियन्ट कम घातक भएको संकेत, जोखिम भने कायम

काठमाडाैं । ओमिक्रोन संक्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले देखाएका छन् ।
प्रारम्भिक नतिजाले अन्य भेरियन्टले संक्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले संक्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको छ ।
तर ओमिक्रोन संक्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो संक्रमित गर्न सक्ने हुँदा अस्पतालमा भिड हुनसक्ने चिन्ता व्यक्त गरिएका छन् ।
यूकेमा बुधबार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् । ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ ।
स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ । त्यसले ओमिक्रोन पनि डेल्टा भेरियन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ ।
अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ।
पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले यो एउटा राम्रो समाचार भएको बताएका छन्।
उनले यो तथ्याङ्कले अस्पताल भर्ना विषयमा ‘थाहा पाउन बाँकी कुरा केही भनेको’ बताउँदै तर यसकै आधारमा ‘केही हुँदैन भनेर बाहिर निस्कन’ नहुने बताए ।
ओमिक्रोन भेरियन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए । एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने : ‘अधिकांश जनसङ्ख्याका लागि व्यक्तिगत रूपमा यसको सङ्क्रमण कमजोर हुन सक्छ तर यी सबै सङ्क्रमणहरू एकै पटक हुँदा अस्पतालमा भिड लाग्न सक्छ ।’ बीबीसी
प्रतिक्रिया