‘स्वास्थ्य क्षेत्रमा सम्भावनासँगै कहाली लाग्दो अवस्था छ’

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भई बिरामीलाई पुनर्जीवन दिनेलगायत आश्चर्यजनक उपलब्धि भए पनि गरिबीको संख्या भने बढ्दै गएको बताए ।
बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन गर्दै उनले निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको जनाए ।
गृहमन्त्री खाँणले स्वास्थ्य क्षेत्रको विकास आशालाग्दो भएको र त्यही आशाभित्र कहाली लाग्दो अवस्था रहेको उनले जनाए । स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी बन्न जरुरी रहेको उल्लेख गरे । उनले नेपालको राज्य प्रणाली पनि हरेक क्षेत्रको निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने पक्षमा रहेको स्पष्ट पारेका छन् ।
२०४६ को बहुदलीय व्यवस्था स्थापनासँगै जुनसुकै पार्टीको सरकार भए पनि मुलुकमा उदारवादी अर्थनीति अवलम्वन भएको र उदारवादी अर्थनीतिको विकल्प दिन नसकिएको गृहमन्त्री खाँणले बताएका छन् ।
गृहमन्त्री खाँणले जनताले चाहेको जस्तो मुलुकको आधुनिकीकरणका लागि बहुआयामिक दायित्व पूरा गर्न सरकारले मात्र नसक्ने भएकाले जनतासँग रहेको साधन, स्रोत, सम्पत्ति, ज्ञान समाज र मुलुकको विकासका लागि प्रयोग गर्न जरुरी रहेको सुनाए ।
उनले सरकारले निजी क्षेत्रको प्रवद्र्धनसँगै गैरमुनाफायुक्त संस्थालाई पनि सरकारले स्थापित गर्न, हुर्काउन र बचाउन आवश्यक रहेको जनाए । उनले बुटबल आफ्नै इतिहास र बलबुताले अहिलेको अवस्थामा स्थापित भएको भन्दै प्रदेश राजधानी नरहे पनि बुटवलको विकासमा कुनै फरक नपर्ने र सबैको साझा प्रयत्नबाट अब्बल बनाउन सकिएको जनाए ।
गृहमन्त्री खाँणले गौतमबुद्ध सामूदायिक अस्पतालका लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको जनाए ।
प्रतिक्रिया