कांग्रेस केन्द्रिय समिति बैठक : पार्टीलाई सुदृढ बनाएर लैजाने संकल्पसहित ४ निर्णय गर्दै सकियो

काठमाडौं । चार वटा निर्णय गर्दै नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएकोछ । पार्टी केन्द्रिय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो ।
बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रिय निर्वाचन समिति, सञ्चार माध्यामसहितलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।
त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।
गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रिय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुले आजै निर्वाचित भएको प्रमाण पत्र पनि ग्रहण गरेका छन् ।

प्रतिक्रिया