माओवादी केन्द्रीय कमिटी बैठक : १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतबारदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो ।
जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस भएपनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताए । केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताए ।
सहमती हुन नसकेमा निर्वाचनमा जाने उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ । केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला । त्यसमा असहमत भएका साथीहरुले राख्न सक्नुहुन्छ । सहमती भयो भने निर्वाचनमा जान्न । सहमती भएन भने जान्छ ।’
माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ । कोभिड १९ को कारण देखाउँदै विदेशी पाहुना भने कसैलाई बोलाइएको छैन ।
आइतबारदेखि सुरु हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भएपनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आइतवार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ ।

प्रतिक्रिया