हत्या गरी फरार एक व्यक्ति २८ वर्षपछि पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस ७ र हाल दोरम्बा शैलुङ गाउँपालिका ४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए ।
थापामगरसहित चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरको चक्कु प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गंगाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।
ढुंगानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
थापामगरकी श्रीमतीले भगाउन खोज्दा प्रहरीले खोजतलासको क्रममा घरको माथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला पारेको हो । अभियुक्तलाई आजै जिल्ला अदालत पेश गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया