‘डेल्टा र ओमिक्रोन एकैपटक फैलिँदा कोरोना संक्रमणले सुनामीको रुप लिनसक्छ’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकैपटक फैलिँदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।
संगठनका प्रमुख टेड्रोस ग्याब्रियसले अमेरिका र युरोपमा यी दुई भेरियन्टको संक्रमण जसरी बढेको छ त्यसलाई सुनामीको संज्ञा दिएका छन् । फ्रान्समा एकैदिन हिजो २ लाख ८ हजार संक्रमित थपिएका छन् । जुन अघिल्लो दिन १ लाख ८० हजार थियो ।
त्यस्तै, अमेरिकामा पछिल्लो साताको रेकर्डले दैनिक २ लाख ६५ हजारभन्दा बढी नयाँ बिरामीहरु थपिने गरेको देखाएको छ । अस्ट्रेलिया, पोल्यान्ड, डेनमार्क, पोर्चुगल र बेलायतमा पनि संक्रमितको दैनिक नयाँ नयाँ रेकर्ड बनेको छ ।
औसतमा अहिले विश्वमा दैनिक ९ लाख बढी नयाँ बिरामी थपिने गरेको तथ्यांक सार्वजनिक भएको छ । संक्रमणको गतिले यसै पनि थकित भइसकेका स्वास्थ्यकर्मीहरुमाथि थप दबाब बढाएको भन्दै ग्याव्रियससले कतै स्वास्थ्य प्रणालीहरु नै फेल हुने त होइन भन्ने त्रास बढेको बताए ।
धनी राष्ट्रहरुले गरिब देशहरुलाई खोप उपलब्ध गराउन छाडेर आफूहरुले बुस्टर डोजमा जोड दिँदा महामारी सोचेभन्दा धेरै समय लम्बिने देखिएको उनको भनाइ छ । अहिले पनि विश्वका एक सयभन्दा धेरै देशले आफ्नो जनसंख्याको ४० प्रतिशतलाई खोप लगाउन नसकेको डब्ल्यूएचओको तथ्यांक छ ।
प्रतिक्रिया