ऋणमा छिमेकी !

काठमाडौं । कोरोना महामारीका कारण संसारभरको अर्थव्यवस्था दूरावस्थाबाट गुज्रिरहेको छ । यस्तो परिस्थितिमा एकातिर सरकारदेखि लिएर सबैको आम्दानी घटेको छ भने अर्कातिर स्वास्थ खर्च बेपत्ता बढेको छ । यसले विभिन्न देशका सरकारहरुमाथिको ऋण पनि बढेको छ ।
नेपालका निकट छिमेकीहरुको कुरा गर्दा भारत र चीन दुवै ऋणमा डुबेका छन् । त्यसमा पनि चीनको टाउकोमा सर्वाधिक ऋण छ । बंगालादेश कम ऋण लिने छिमेकी हो भने पहिलेदेखि नै आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमाथिको ऋणले विकराल रूप लिन थालिसकेको छ ।
स्टेट बैंक अफ पाकिस्तानका अनुसार इमरान खान नेतृत्वको सरकारले मात्रै २०.७ ट्रिलियन पाकिस्तानी रुपैयाँ ऋण लिइसकेको छ । यसका साथ पाकिस्तानको बाह्य कर्जा बढेर पहिलोपटक ५०.५ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको छ । डलरमा हिसाब गर्दा यो करिब २८३ अर्ब डलर जति हुन आउँछ । युनाइटेड नेसन्सको वर्ल्डोमिटरको तथ्यांकअनुसार पाकिस्तानको जनसंख्या २२,७१,४१,५२३ छ । जनसंख्यामा ऋणको हिसाब लगाउँदा अहिले प्रत्येक पाकिस्तानीको टाउकोमा करिब १२३०.५० डलर ऋणको भार देखिन्छ ।
भारतको जनसंख्या १,३९९,७९१,०६८ बताइएको छ । गएको मार्चको तथ्यांकअनुसार भारतमाथि ५७० अर्ब डलर बाह्य ऋण छ । कोरोनाको एक वर्षमा भारतले ११.६ अरब डलर नयाँ ऋण लिएको बताइन्छ । यस हिसाबले हर भारतीय नागरिकको टाउकोमा ४०७.१४ डलर ऋण भार देखिन्छ ।
चीनका नागरिकमाथि रेकर्ड कर्जा
जीडीपीको आकारका हिसाबले संसारको दोस्रो ठूलो अर्थव्यवस्था चीनको अवस्था पनि ऋणमै डुबेको पाइन्छ । चीनमाथि १३,००९.०३ अर्ब डलर बाह्य ऋण छ । जुन आफैंमा एउटा रेकर्ड हो । बितेका केही दशकमा चीनले जबरदस्त आर्थिक प्रगति गरेको छ । यद्यपि यसका साथ चीनको बाह्य कर्जा पनि बेहिसाबले बढेको छ । सरकारी प्रयासका बाबजुद चीनको बाहिरी ऋण नियन्त्रित हुन सकिरहेको छैन । वर्ल्डोमिटरको हिसाबअनुसार चीनको जनसंख्या १,४४७,४४८,२२८ छ जुन संसारको सर्वाधिक जनसंख्या हो । कुल ऋण र जनसंख्याको हिसाब लगाउँदा चीनका प्रत्येक नागरिकको टाउकोमा ८९७१.७४ डलर ऋण देखिन्छ ।
बंगलादेशको स्थिति
कुल देनदारीका साथै प्रतिव्यक्ति ऋणका दृष्टिले बंगलादेशको स्थिति तुलनात्मक रुपले केही राम्रो छ । बंगलादेशको जनसंख्या १६६,३०३,४९८ जति छ भने उसको बाह्य ऋण ४५ अरब डलर छ । कुल ऋण र जनसंख्याको हिसाब लगाउँदा प्रत्येक बंगाली नागरिक माथि २६४.७० डलर ऋणभार देखिन्छ जुन चीन र पाकिस्तानको तुलनामा निकै कम हो भने यो ऋण भार भारतको तुलनामा पनि लगभग आधा हो ।
प्रतिक्रिया