पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
गृहमन्त्री खाँणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । रेष्टुरेण्ट एन्ड बार एसोसिएन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ औं सडक महोत्सव सुरु भएको छ ।
गृहमन्त्री खाँणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भू–भागहरुमा २४ घण्टा नै रेष्टुरेण्ट खुलोस् भन्ने चाहना रहेको बताए ।
गृहमन्त्री खाँणले भने, ‘पोखराको सुन्दरता र पोखराको फेवा लगायतका तालहरुको संरक्षणमा सरकार प्रतिवद्ध छ । लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार छ । म चाहन्छु, देशका विभिन्न भू–भागहरुमा २४ घण्टा नै रेष्टुरेण्ट खुलोस् । त्यसका लागि मलाई स्थानीय सरकारको सहयोग चाहिन्छ । हामी खोल्ने तरखरमा नै छौँ । तर त्यहाँका दाजुभाई, स्थानीयहरुले के भन्नुभएको छ भने रातभर ठूला साउण्डबक्समा आवाज आए हामी कसरी सुत्ने ?’
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सव कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै आयोजना गरिएको बताइएको छ ।
महोत्सवमा २५ भन्दा बढी बाजागाजासहित साँस्कृतिक समूहको सहभागिता रहेको छ । त्यस्तै महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता गरिनेछ ।

प्रतिक्रिया