भीम रावल भन्छन्- सरकार परिवर्तनसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य कहिले हुन्छ ?

नेपालखोज २०७८ पुष १६ गते १५:२९

काठमाडौं । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिए । यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनले बताए । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उनले समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए ।

सांसद् रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे । त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताए ।

बैठकमा बोल्दै सांसद् पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो शन्देश नगएको टिप्पणी गरे । उनले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘राजदूत नियुक्ती गरीसकेपछि मुलुकको सरकार परिवर्तन हुने बित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडी आयो यसको शन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तिमा यति समय अगावै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ ।’

सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश बिचको सम्बन्धमा समेत असर पर्ने धारणा राखे ।

प्रतिक्रिया