निजामती कर्मचारीको सरुवा, बढुवालाई चक्रीय प्रणालीको आधारमा गर्ने सरकारको तयारी

नेपालखोज २०७८ पुष १६ गते २०:५१

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुने गरि सरकारले तयारी गरिरहेको बताएका छन् ।

शुक्रवार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रिय प्रणाली लागु गर्न छलफल भइरहेको बताए । उनले निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनु पर्ने भन्दै जथाभावि मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने बताए ।

मन्त्री बडूले सरुवालाई पूर्वानुमान योग्य हुन सक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रिय प्रणालीको रुपमा बिस्तार गर्न छलफल भइरहेको बताए । उनले सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको बताए ।

मन्त्री बडूले न्यायालयको समस्या न्यायालयभित्रबाट नै समाधान हुनुपर्ने बताए । उनले न्यायालयमा न्याय दिलाउनेहरुको निधार खुम्चिने काम हुनु नहुने भन्दै न्यायालयबाट छिटो छरितो रुपमा सेवाग्राहीले सेवा पाउनु पर्ने बताए । उनले अन्य काम संघीयतामा गएपछि सहज र छिटो भएको तर न्यायलयको काम भने संघीयतामा गइसकेपछि पनि सहज नभएको आफूलाई अनुभुत भएको बताए ।

मन्त्री बडूले एउटा व्यक्तिले मुद्दा दर्ता गरिसके पछि न्याय पाउनको लागि अनिश्चयकालसम्म पर्खनुपर्ने समस्या राम्रो नभएकोसमेत बताए ।

प्रतिक्रिया