सोमबार, वैशाख १७, २०८१

‘मुस्कुराउनु भनेको भित्तामा बल हान्नु जस्तै हो, फर्केर तपाईंतिरै आइपुग्छ’

‘विगतदेखि नझस्किनुस् तर विगतका गल्तीबाट सिक्नुस्’

नेपालखोज २०७८ पुष १७ गते १३:२९

युवा साहित्यकार सुविन भट्टराईले नयाँ वर्ष २०२२ प्रवेशको अवसर पारेर केही सुझाव दिएका छन् । सुविन लेख्छन् :

कसैलाई राय सल्लाह दिने हैसियत मेरो छैन । आफैँले आफैँलाई ऊर्जा दिन खोजेको । जुनसुकै नयाँ वर्षको क्यालेण्डर बद्लियोस्, जीवनमा केही नयाँपन चाहिन्छ भन्ने लागेर ।

-विगतदेखि नझस्किनुस् तर विगतका गल्तीबाट सिक्नुस् । आगतदेखि नतर्सिनुस् तर कुन बाटो हिँड्ने हो एउटा नक्सा कोर्नुस् । महत्त्वपूर्ण त समयको लामो यो धागोमा आफू जहाँ हुनुहुन्छ, त्यहीँ हो, खुब मस्ती गर्नुस् ।
-दिमागभरि नचाहिने कुरा छिरुन्जेल फुर्सदमा पनि नबस्नुस् र आफूलाई समय नै नपुग्नेगरी व्यस्त पनि नरहनुस् ।
-चिन्तन गर्नुस्, मनन गर्नुस्, के पाएँ जिन्दगीमा खुलेर समर्थन गर्नुस् । हासिल गर्न नसकेका कुरा सम्झेर गनगन नगर्नुस् । सबैले सबैथोक पाउने भए संसारमा गणितको सूत्र नै फेल हुन्छ ।
-संसारै आफ्नो बनाउँछु भन्ने लोभ नगर्नुस् । तपाइँको मुठ्ठी र अँगालो मात्र भरिए जीवन सार्थक र सुखी हुन्छ ।
-कसैसित बोल्दा मुसुक्क हाँसिदिनुस् । कसैसित मुस्कुराउनु भनेको भित्तामा बल हान्नु जस्तै हो । फर्केर तपाईंतिरै आइपुग्छ ।
-पढ्ने बानी फिटिक्कै छैन भने, आफ्नो रुचिको कुनै पनि किताब, दिनमा एक पन्ना मात्र भए पनि पल्टाउनुस् । किताबले तान्दै गए हप्तादिन नबित्दै सिध्याउनुहुन्छ । नताने छाडिदिनुस् र रुचिको अर्को किताब खोज्नुस् ।
-संसारमा सबैभन्दा धेरै महत्त्वपूर्ण व्यक्ति तपाईं आफैँ हो । आफैँलाई महत्त्व दिनुस् । आफ्नै स्याहार गर्नुस् । तब आफूमा निख्खार आउला । दिमागमा आफूभन्दा अरुलाई बढी स्थान दिनुभो भने दिमाग तपाईंको भए पनि त्यहाँ अरुकै घर ठडिएला ।
-गल्ती सबैबाट हुन्छ । तर ‘मैले गल्ती गरेँ,’ भन्न कसैलाई मन लाग्दैन । इगो अगाडि आइहाल्छ । र, हामीलाई सम्बन्धमा भन्दा पनि इगोमा बढी विश्वास छ । एकछिन झुक्नुस्, जुनीभर माथि पुग्नुहुन्छ ।
-एक-दुईपटक गल्ती गर्नेलाई माफी दिनुस् । पटक-पटक एउटै गल्ती गर्नेलाई कहिल्यै नपत्याउनुस् । ती कहिल्यै नसुध्रिने कोटीका हुन् । तीसँग दुस्मनी निभाउनुस् । एक-दुईजना दुस्मन भएन भने पनि जीवन ऊर्जाहीन हुन्छ ।
-संसारमा सबै आफूजस्तै हुनुपर्छ भन्ने छैन । फरक विचार भएकाको पनि सम्मान गर्नुस् । संसार सुन्दर यसै कारणले छ, हरेक मान्छेका विचार हरेक मान्छेसित मिल्दैन । एउटै रङले बनेको भए इन्द्रेणी यति सुन्दर कहाँ हुन्थ्यो होला र ?
अंग्रेजी नयाँ वर्ष २०२२ को सबैलाई शुभकामना ।

प्रतिक्रिया