शुक्रबार, जेठ ४, २०८१

नयाँ बर्ष र हामी

सुनील सापकोटा २०७९ पुष १७ गते १२:५५

हामी हिन्दु धर्मावलम्बीहरुको यो नयाँ वर्ष होइन । हामीले यसलाई नमनाए पनि केही फरक नपर्ला । तर यो अङ्ग्रेजी नयाँ वर्ष दश–पन्ध्र बर्ष यता देखि हाम्रो देशमा हाम्रा नयाँ पुस्ताले बडो धुमधाम सँग मनाइरहेका छन् । बरु, हाम्रो नेपाली नयाँ बर्षमा रमाइलो गरि मनाउने चलन घटदै गएको देख्छु । भारतमा पनि अंग्रेज शासन आएदेखि मात्र जनवरीको पहिलो तारिखमा नयाँ वर्ष मनाउने गरिएको हो । त्यो भन्दा पहिले भारतमा जनवरीमा मनाउने चलन थिएन ।

नयाँ वर्ष सन् २०२३ गएरातिबाट शुरु भयो । तर यस्को खुसियालीमा दुई–तीन दिन अगाडी देखि नै नेपालका बजारहरुमा धनी र कुलीनवर्गको किनमेल गर्ने भिडभाड छ । रेस्टुरेन्ट र होटेलमा चहलपहल ह्वात्तै बढ्यो । हरेक नयाँ बर्षमा मानिसहरुको उत्साह र खुशी देख्दा म सोच्छु परिर्वतन । नयाँ बर्षले जनताको जीवन स्तरमा केही परिवर्तन खुशियाली ल्याउला । गत बर्षको तुलनामा केही राम्रो होला । तर अफसोच ! मेरो सबै सपनाहरु बालुवामा पानी हाले जस्तै भइरहेछ । हामी कहाँँ राजनीतिक परिवर्तन भएपनि जनताको अवस्थामा खास परिर्वतन देखिएको छैन् ।

मूलुकको बजेटको आकार ठूलो हुँदै गएपनि जनताको आर्थिक अवस्था कमजोर बन्दै जानु र यूवाहरुको अवस्था बिग्रदै जानुले पिरलो थपिएको छ । आर्थिक बजार संकटमा छ । रेमिट्यान्सको भर पर्नुपर्ने दयनीय अवस्था छ । काम भन्दा पनि भष्ट्राचार बढेको छ । प्रगतिको गति सुस्त छ । नेतृत्वले सहि ट्रयाक समात्न सकेको अवस्था छैन् । समाजबाट जातीय छुवाछुत तथा भेदभाव, वालविवाह, वाल मजदुरी, मानव बेचबिखन, श्रम शोषण, तस्करी लगायतका बेतिथीको अन्त्य हुन सकेको छैन् । दिनप्रतिनिन बेरोजगारीको संख्या बढ्दो छ । देशमा बस्न चाहनेको संख्या कम हुँदै जानुले पनि नेपालको सम्बृद्धिको यात्रामा अवरोध पैदा हुने देखिन्छ । हत्याहिंसा, बलत्कारजस्तो जघन्य अपराधको संख्या थपिनु भनेको पनि समाजको विकासका लागि दुखद हो ।

अब हामीले गम्भीर भएर नयाँ ढंगले सोच्नु पर्ने बेला आएको छ । हामी सबैको सोचमा परिवर्तन हुनु पर्यो । व्यक्तिगत स्वार्थलाई त्याग्नु पर्यो । रास्ट्रिय हितलाई अघि सार्नु पर्यो । आफ्नो हृदयमा प्रेम र सदभावको संचार हुनुपर्यो । नभए बिदेशी चलखेलले हाम्रो राष्ट्रियता, धर्म, संस्कृति, सभ्यता र आर्थिक अवस्था बर्वाद पार्ने वाला देख्छु । हाम्रो राष्ट्रियता धरापमा पर्नेवाला छ । निर्वाचनको परिणामले अध्याँरोमा जुनकीरीको किरणले केही आशा जगाएको जस्तो देखिन्छ ।

राजनितिमा केही युवाहरुको हस्तक्षेपले केही परिवर्तन आउँला कि भन्ने आशा जागेको छ । तर यूवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको मोहले नेपाली संस्कृति भुल्न थालिएको छ । त्यसो हुनु भनेको आफैँले आफैँलाई भुलिनु हो । यो कस्ले मनन गर्ने । मात्र क्षणिक रोमान्समा संस्कृति अपहेलित बन्दै आएको छ । आफ्नो संस्कृतिमै लाली लगाउन सके र अन्तराष्ट्रियकरण गर्न सके आफ्नै पहिचान उचो हुने थियो । नयाँ बर्ष मनाउने मुडमा नेपाली नयाँ बर्षलाई नर्बिसौँ । नेपालीपनलाई नभुलौँ ।

प्रतिक्रिया