नयाँ वर्ष बहिष्कृत हुनुहुन्न

आचार्य प्रभा २०७८ पुष १७ गते १३:५९

नयाँ वर्ष आउँछ
खुसी ल्याउँछ
अनि शनै:शनै :
फेरि आफ्नो
असलियत देखाएर
कसैलाई शोकमा डुबाउँछ
कसैको भाग्य चम्काउँछ
कसैलाई छुटाउँछ
कसैको मिलन गराउँछ।
हो,नयाँ वर्ष आउँछ
केही हर्षको फोहोरा वर्षाएर
त्यही हर्षको फोहोरा
कसैको आँसुमा परिभाषित भएर झर्दछ
कसैकोलागि उमंगको स्याम्पेन
बनेर उड्छ माथि माथि
खुसीको फिँज बनेर।
त्यसैले लाग्छ, नयाँ वर्ष
दीर्घकालीन खुसी होइन
जो क्षणिक रमाएर सदाबहार बन्ने
नयाँ वर्ष उत्साह र उमंगको सार होईन
जो,बोतल फोरेर,उफ्रिएर मात्र खुसी मनाउँने
नयाँ वर्ष त्यस्तो होस्
जो नव दुलही झैं भित्रिएर
दीर्घकालसम्म स्थिर रहने,सन्तुष्ट गराउने।
अन्तत!मेरो अर्थमा नयाँ वर्ष
बोतलको रससँग पिइनु हुन्न
अनि सितनको परिकारसँग चपाइनु हुन्न
यो त आफ्नो कर्म र मिहिनेतसँग
जोडिएर आउनुपर्छ
नयाँ वर्ष एकरातमै बहिष्कृत हुनु हुन्न
यो त सदा बहार कुमारी रहनु पर्छ
अनि हर साल नयाँ भावमा जगमगिनुपर्छ
जस्तै दुई हजार बाईस अब जगमगिनेछ
छुट्टै आभाष दिलाएर सारा जगतलाई।
-हाल : अमेरिका

प्रतिक्रिया