शुक्रबार, वैशाख २८, २०८१

वर्णशंकर

खेमलाल पहारी २०७९ वैशाख ३ गते १०:४३

‘यो बच्चा मेरो हुँदै होइन । ए, भन, ए नकटी यो कसको पाप बिसाईस् मेरो पिँढीमा ?’ ६ दिनकी आली सुत्केरीलाई जगल्टयाएर लछारपछार गर्दै शेखरे कुर्लिएको सुनेर रमिते गाउँलेहरू उसको आँगन वरिपरि जुटे ।

पालिका केही नबोली सुँक्क-सुँक्क रोइरहेकी थिइन् । ‘जे भए पनि तेरो काखमा आयो अब चुपलाग आफ्नै मानेर स्याहार-सुसार गर । उसै पनि आँखा ज काटिकुटी हाम्रै जस्ता छन्,’ नेपाली बूढी बोलिन् । शेखरेको पारो सेलाएकै थिएन । ‘हातखुट्टा हेर, हातखुट्टा मानेको जस्ता छन्, आँखाले मेरै कान्छो भाइ गगने सम्झाउँछन्, अनुहार उपिन्द्रेको परेको छ । नजिकै जाँदा राजिन्द्रे राजिन्द्रे हस्को आउँछ । ओठ मुख हेर्दा चित्रे हो झैं लाग्छ, अनि तपाईंहरू यो पाप मलाई भिराउन चाहनुहुन्छ ?’ शेखरे आँगनमा उभिएर धारेहात लगाउँदै चिच्यायो ।

छोराका कुरा सकिएपछि हल्दार काकाले नातिलाई नियालेर हेरे । उनलाई लाग्यो उनको छोराले ठीकै भनेको थियो । उनले बुहारीलाई फकाउँदै कुरा केहो भनेर सोधे । ससुराको हात समात्दै पालिकाले भनिन्, ‘बा, बिहेको दिन बेलुका घरमा अबेरसम्म पार्टी चलेको थियो । म उहाँलाई कुरेर कोठामा बसिरहेकी थिएँ । तर उहाँको कुनै पत्तो थिएन । यत्तिकैमा देवरबाबु आधा दर्जन साथीहरूसहित कोठामा आएर मलाई पाकेको केरासरह बाँडिचुँडी गर्नुभयो । भएको यत्ति हो मलाई यत्ति याद छ । म निर्दोष छु । मलाई न्याय दिनुहोस् ।’

‘यति हुँदासम्म तिमीले केही भनिनौं ?’ ससुराले आँखा पुछ्दै सोधे ।

‘मैले आफूलाई छुटाउने धेरै कोसिस गरें,’ उनले रुँदै भनिन्, ‘तर सबैजनाले गठबन्धन गठबन्धन भन्दै मलाई रातभरि लुछिरहे ।’
-भरतपुर ४, चितवन

प्रतिक्रिया