शुक्रबार, जेठ ४, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट-४

नेपालखोज २०७८ जेठ ८ गते ११:१४

विभिन्न टेलिभिजन च्यानलहरुबाट विशेषत: गायन क्षेत्रमा संघर्षरत प्रतिभाहरुको खोजी गरी प्रतिस्पर्धाको माध्यमबाट उनीहरूको प्रतिभालाई प्रोत्साहित र पुरस्कृत गर्ने उद्देश्यले नेपाल आइडल, भ्वाइस अफ नेपाल, नेपाल स्टार जस्ता कार्यक्रम सञ्चालनमा आइरहेका छन् । यो आफैंमा राम्रो काम हो।

फर्केर हेर्दा- यस्तै उद्देश्यले चालिसको दशकमा नेपाल टेलिभिजनमार्फत सुप्रसिद्ध संगीतकार शम्भुजीत बास्कोटाले “प्रतिभाको डबली” नामको कार्यक्रम सञ्चालन गर्नुभएको थियो र यो कार्यक्रमले अत्यन्तै लोकप्रियता हासिल गरेको थियो ।

त्यसपछि ०५६/५७ सालतिर त्यस्तै प्रकृतिको अर्को एउटा सागीतिक कार्यक्रम सुरु भयो । “ब्राइटर : तिम्रो सुर, मेरो गीत” नामको त्यो कार्यक्रम अत्यन्तै लोकप्रिय रह्यो । हरि बस्नेतले संयोजन गर्नुहुने त्यो कार्यक्रम उत्पादनमा सुप्रसिद्ध संगीतकार प्रकाश गुरुङको महत्त्वपूर्ण भूमिका रहने गर्थ्यो । कार्यक्रमको सुटिङ नेपाल पर्यटन बोर्डको प्रेक्ष्यालयमा हुन्थो र कार्यक्रम सञ्चालनको जिम्मेवारी गायिका रिमा गुरुङको काँधमा थियो ।

स्थापित श्रष्टा/कलाकारलाई अतिथि वा अतिथि-निर्णायकका रुपमा कार्यक्रममा निम्त्याइन्थ्यो । यसै क्रममा २०५७ असार १ गतेको कार्यक्रममा प्रसिद्ध गायिका बहिनी लोचन भट्टराई र मलाई निम्त्याइएको थियो । यो तस्बिर त्यही अवसरमा मैले आफ्नो निर्णायक- मन्तव्य राख्दै गर्दाको हो । तस्बिरमा मेरो बायाँपट्टि गायिका लोचन भट्टराई र दायाँपट्टि गायिका रिमा गुरुङ (होडा) हुनुहुन्छ।

अहिले न यो कार्यक्रम चलिरहेको छ न त कार्यक्रम प्रायोजन गर्ने बाइटर टुथपेस्ट नै अस्तित्वमा छ। फेरि पनि यो फोटोले ती कुराहरु सम्झाइरहेको छ।

प्रतिक्रिया