आइतबार, वैशाख २३, २०८१

‘ए’ डिभिजन लिग : मनाङ लिगको शीर्ष स्थानमा उक्लियो

नेपालखोज २०७८ पुष १७ गते १८:२५

काठमाडौं । ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरा घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइजविरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाईसहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पुर्‍याएको हो ।

पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उक्त जितसँगै मच्छिन्द्रलाई पछि पार्दै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । यस सँगै मनाङको १६ अंक पुगेको छ मच्छिन्द्रको १४ अंक छ ।

एएफसी च्यालेन्ज कपका लागि छनोट हुन मनाङको सम्भावना बलियो बन्दै गएको छ । सातौं चरणको खेल अन्तर्गत मच्छिन्द्रले आइतबार पुलिससँग खेल्नेछ । मच्छिन्द्र र पुलिसबीचको खेलले नै मनाङ एएफसीका लागि छनोट हुने/नहुने निर्धारण गर्नेछ ।

एन्फाले सातौं चरणको खेलसम्म एएफसी लाइसेन्सप्राप्त क्लबमध्ये शीर्ष स्थानमा हुने टिम एएफसी च्यालेन्ज कपको लागि छनोट हुने निर्णय गरेको थियो । मच्छिन्द्रले पुलिसलाई हराउँदा ३ अंक जोडिएर १७ पुग्छ । यसो हुँदा मच्छिन्द्र नै छनोट हुन्छ ।

मच्छिन्द्रलाई पुलिसले बराबरीमा रोक्यो भने एक–एक अंक बाँडिदा मच्छिन्द्रको १५ अंक मात्रै पुग्छ । त्यसो भयो भने मनाङ एएफसी च्यालेन्ज कपका लागि छनोट हुन्छ । शनिबारको खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ दी म्याच र प्रवेश कुंवर उदीयमान खेलाडी घोषित भए ।

प्रतिक्रिया