दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन

काठमाडौं । २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन आज समापन भएको हो ।
महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उनले बताए ।
बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुंग्याइने उनले बताए । त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिए ।
यसैबीच, नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रिय कमिटी चयन गरेको भन्दै खुशी व्यक्त गरेका छन । उनीहरुले महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैले पनि विमति नरहेको दावी समेत गरेका छन ।
केन्द्रिय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलहरुभन्दा पनि बढि लोकतान्त्रिक ढंगले केन्द्रिय कमिटी चयन गरिएको भन्दै खुशी व्यक्त गरे । उनले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रिय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रुपमा सफल भएको दाबी समेत गरे । दिपशिखाले भने, ‘नेपालको राजनीतिक ईतिहासमा सबैभन्दा अग्रगामी, समावेशी र सबैभन्दा लोकतान्त्रिक तरिकाले केन्द्रिय समिति निर्वाचित गरेको छ । यस मानेमाकी नेपालमा ३५ प्रतिशत महिला कुनै पनि राजनीतिक दलको कमिटीमा छैन । २० प्रतिशत युवा, कुनै राजनीतिक दलमा छैन । १५ प्रतिशत दलित कुनै राजनीतिक दलमा छैन ।’
महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रिय सदस्य अनिल शर्माले बताए । उनले सर्वसम्मत रुपमा केन्द्रिय कमिटी चयन हुनु भनेको आफूहरुका लागि गौरवको विषय भएको र यसले मुलुकको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताए । माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रिय समितिले चयन गर्नेछ ।

प्रतिक्रिया