माओवादीले पनि टुंग्यायो राष्ट्रियसभाका उम्मेद्‌वार

नेपालखोज २०७८ पुष २० गते १०:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस पटक सातै प्रदेशमा एक महिला, एक अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।

नेपाली कांग्रेसको पनि सोमबार बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार टुंगो लगाएको थियो । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलले गठबन्धन बनाएर चुनाव लड्दै छन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

प्रतिक्रिया