शनिबार, जेठ ४, २०८२

भारतमा ३७ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

नेपालखोज २०७८ पुष २० गते ११:२४

नयाँ दिल्ली । भारतमा गत चाैबीस घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन् ।

गत चाैबीस घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याकाे ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

गएको चाैबीस घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।

भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस/एएनआई

प्रतिक्रिया