फरक भूमिकामा बैंकर, सञ्चालक समितिमा पूर्वव्यवस्थापक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लामो समय व्यवस्थापन प्रमुखको भूमिका निर्वाह गरेका आधा दर्जन बढी बैंक तथा फाइनान्स कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु अहिले बैंक तथा फाइनान्स कम्पनीहरुको सञ्चालक तथा अध्यक्ष बनेका छन् ।
सिभिल, प्रभु, नबिल, बैंक अफ काठमाण्डूलगायत आधा दर्जन बैंकमा पूर्वव्यवस्थापन प्रमुखहरुले सञ्चालक समितिको नेतृत्व गरिरहेका छन् ।
विगतमा व्यवस्थापन प्रमुख भएर लामो समय काम गरेको व्यक्ति बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष तथा सञ्चालक हुँदा संस्था थप बलियो हुन सक्ने भन्दै बैंक तथा फाइनान्स कम्पनीहरुले बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरुलाई निर्णायक तहमा राखेको हो ।
यसरी पछिल्लो समय बैंकको निर्णायक तहमा पुग्नेमा प्रतापजंग पाण्डे देखिएका छन् । सिभिल बैंकका सञ्चालक समिति अध्यक्ष इच्छाराज तामाङ सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेको केही समयपछि नै पाण्डे सिभिल बैंकमा सञ्चालक समितिको अध्यक्ष भएका हुन् । उनी यसअघि सोही बैंकमा मर्ज भएको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीमा डीजीएम थिए ।
यसैगरी प्रभु बैंकले पनि देवीप्रकाश भट्टचन सञ्चालक समितिको अध्यक्षबाट हटेपछि लीलाप्रकाश सिटौलालाई अध्यक्ष बनाएको छ । सिटौला यसअघि कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।
यसैगरी सिटिजन्स बैंक इन्टरनेसनलमा पनि सोही बैंकमा कार्यरत पूर्वप्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी अध्यक्ष छन् । भण्डारीले सिटिजन्समा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरेका थिए ।
नबिल बैंक सञ्चालक समिति अध्यक्ष उपेन्द्र पौडेल पनि पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । नबिलमा अध्यक्ष भएर आउनुअघि पौडेल एनएमबि बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । सोही बैंकमा सञ्चालक रहेका उदयकृष्ण उपाध्याय पनि कुमारी बैंकमा पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । उपाध्यायले निकै लामो समय कुमारी बैंकमा व्यवस्थापन प्रमुख भएर काम गरेका थिए ।
हाल बैंक अफ काठमाण्डूमा सञ्चालक रहेका राधेश पन्त पनि पहिले सोही बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उनले केही समय कुमारी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए ।
सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जन पनि हाल प्रोग्रेसिभ फाइनान्सको अध्यक्षको जिम्मेवारीमा छन् । सिभिल छाडेलगत्तै महर्जन प्रोग्रेसिभमा सञ्चालकका रुपमा भित्रिएका थिए ।
प्रतिक्रिया