सरकारसँग विवेकशील साझाको चारबुँदे माग

काठमाडौं । विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पार्टीले सरकारसँग ४ बुँदे माग राखेको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले शाहको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिन समेत माग गरेका छन् । साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ । पृथ्वी जयन्तीको अवसरमा साझाले यही पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणासमेत गरेको छ ।
यस्ता छन् ४ बुँदे माग
१. पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस {Nepal Day}’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो ।
२. संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।
३. राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्याउँछौ। अनावश्यक रूपमा अनेकाै बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।
४. त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा स-सम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्याउन चाहन्छौँ।

प्रतिक्रिया