काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण

नेपालखोज २०७८ पुष २० गते १७:५५

काठमाडौं । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।

समितिको आज बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फाष्टट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरकारको सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ । नेपाल सरकारको लक्ष्य अनुरुप आव २०८०/८१ सम्ममा काम सम्पन्न हुनेमा दुविधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताए ।

तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकताअनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उनले बताए ।

समितिको मंगलबारको बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणको कामले गति लिनुपर्ने धारणा राखेका थिए । समितिको आगामी बैठक छिट्टै राखेर काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको कामलाई गति दिने गरी आवश्यकताअनुसार निर्देशन दिइने समिति सभापति बिडारीको भनाई छ ।

प्रतिक्रिया