ओलीले भने- सभ्यता र संस्कृति जोगाएर अघि बढे इतिहासमाथि न्याय हुन्छ

नेपालखोज २०७८ पुष २१ गते १६:३५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदा मात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे ।

संस्कृति बचाऊ अभियन्ताहरुसँग आज आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताए । उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचनसमेत दिए ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले ग्रयाभिटेशनको थेउरी न्यूटनले भन्दा हजारौं वर्ष अगाडि हाम्रा पूर्वज भास्कर आचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको दाबी गरे । उनले अष्टवक्रजस्ता फिलोसफरहरुको चर्चा हुन नसकेको पनि बताए ।

अध्यक्ष ओलीले हाम्रा पूर्वजहरुले यो भूमिलाई ज्ञान भूमि, तपोभूमि भनेको सही भएको पनि बताए । उनले हाम्रो संस्कृतिले हामीलाई विषरहीत भान्साको उपहार दिएको बताए ।

प्रतिक्रिया