महासचिवको प्रस्ताव मलाई आउन सक्छ : देव गुरुङ (भिडियोसहित)

नेपालखोज २०७८ पुष २१ गते १५:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन् । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताए ।

उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने स्पष्ट पारे । आज न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिए । उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपपर्ने बताए ।

गुरुङले भने,‘पार्टीको निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यक्तअनुसार, परिस्थितीअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो । पार्टी क्रान्तिको एउटा साधन हो । साध्य होइन । पछिल्लो समयमा पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य बाहिर उपचारमा रहनुभएकाले, उहाँले म नफर्कंदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी बिरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकाले सायद अलिकति वेटिङ गरेको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ ।’

नेता गुरुङले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी भएकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताए । उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरुबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए । नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे ।

उनल भने, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर जो आइरहेको छ । उहाँहरुको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कम्रेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास त गरिरहनु भएको छ ।’

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गर्न नहुने बताए । पदाधिकारीहरु सहमतिमै चयन गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया