ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने सरकारको नीति

नेपालखोज २०७८ पुष २२ गते १५:१४

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनका लागि आफूले ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्ने नीति लिइएको बताएकी छन् । “विद्युत् स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्याबहारमा सहज बनाउँदै लैजानुपर्छ”, मन्त्री भुसालले भनिन् ।

नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताइन्। उनले भनिन्, “विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ ।”

प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उल्लेख गर्दै उनले भनिन्, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।”

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याइन् ।

प्रतिक्रिया