निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्न गठबन्धनका नेताको जोड

नेपालखोज २०७८ पुष २२ गते १५:२३

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो विमानस्थल निर्माणलाई गति दिनुपर्ने धारणा राखेका थिए । बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरुको सहमती भएको बताए ।

उनले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि उल्लेख गरे । मन्त्री आलेले बस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै सो को लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया