सांसद होइनन्, संसद् खुलाउने दौडधूप किन ?

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक नेकपा एमालेले बहिष्कार नै गर्ने चेतावनी दिँदै आएको छ । संसद् अवरोधको निकास निकाल्न दुई दिनयता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको सक्रियता ह्वात्तै बढेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार साँझ भेटेर संसद्लाई दिशाहीन नबनाउन पौडेलले आग्रह गरे । ओली-निवास बालकोट नै पुगेर पौडेलले ओलीलाई प्रतिनिधिसभाको पुस २८ गते बस्ने बैठकमा नाराबाजी नगर्न र संसदीय मान्य र मूल्यताको धज्जी नउडाउने आग्रह गरे ।
संसद्को गतिरोध अन्त्यका लागि भन्दै पौडेल नेतृत्वमा रहेको उच्चस्तरीय संयन्त्रले आज पनि बालुवाटारमा घनिभूत छलफल चलायो । संसद्का सदस्यसमेत नरहेका पौडेलले संसद्को गतिरोध अन्त्यका लागि खेलेको भूमिकाले राजनीति वृत्तमा अनौठो रुपमा हेरिएको छ । यद्यपि सबैको ध्यान भने पौडेलतर्फै केन्द्रित भएको छ ।
बालुवाटारबाट आज बैठक सकेर निस्कँदै गर्दा पनि पौडेलले सञ्चारकर्मीसँग एमालेले सहमतिको विन्दु खोजेर बैठकमा आफूलाई सहभागिता गराउनुपर्नेमा जोड दिए । उनले सबै गतिरोध अन्त्य गरेर देशलाई अगाडि बढाउनुपर्ने पनि बताए । नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने आफ्नो भनाइ रहेको पनि सञ्चारकर्मीमाझ पौडेलले स्पष्ट पारे ।
पौडेलले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जोड दिनुपर्ने बताए । उनले देउवालाई एमालेलाई फकाउन पनि सुझाएको बताए ।
ओली भेट्न बालकोट पुगेका पौडेल देउवाको दूत बनेर गएको भनेर कांग्रेसीवृत्तमै केही विरोधका स्वर सुनिए । साथै हिजो (बुधबार) मात्र कांग्रेसको शेखर कोइराला पक्षको भेलाले पौडेल देउवाको सहयोगी रहेको निष्कर्ष निकालेको थियो । भेलाले पार्टीको १४औं महाधिवेशनमा देउवालाई पौडेलको पूर्ण सहयोग र समर्थन रहेको निष्कर्ष निकालेको थियो ।
नेकपा एमालेले माधव नेपालसहितका नेतालाई कारबाही नगरेर सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मान्यता र मूल्यको धज्जी उडाएको बताउँदै आएको छ । सभामुख निष्पक्ष हुने भनिए पनि व्यवहारमा लागु नभएको एमालेको आरोप छ । एमालेले सभामुखको राजीनामासमेत माग गर्दै प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको छ ।

प्रतिक्रिया