‘बूढीगण्डकी, अपर-अरुण र कर्णाली चिसापानीजस्ता ठूला आयोजनामा ध्यान दिनुहोस्’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताए । आज लगानी बोर्डको बैठकमा उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुुन ।
उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ शहर निर्माण गर्नुपर्ने पनि बताए । उनले भने, ‘नेपालका यस्ता तीनवटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’
मन्त्री शर्माले विकासमा सन्तुलन आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न भने । त्यस्तै जलविद्युत क्षेत्रमा तीनवटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईहरूले ध्यान दिनुहोस्’, उनले भने ।
त्यस्तै उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यातायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुप¥यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुपर्छ ।’








प्रतिक्रिया