एमालेका सबै जिल्लामा आज अधिवेशन, उद्घाटन भने अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट भर्चुअलरुपमा गर्ने

नेपालखोज २०७८ पुष २३ गते ७:०८

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज (शुक्रबार) मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृहजिल्लामा पुगेका छन् ।

प्रतिक्रिया