एनएमबी बैंकले १२ दशमलव ५० प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एनएमबी बैंकको संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही पुस २२ गते बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडाैं २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचारसमेत व्यक्त गरेका थिए ।
उक्त वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत बोनस सेयर र तीन दशमलव तीन प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।
साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ आषाढ सम्ममा खुद नाफा दुई अर्ब ७१ करोड, निक्षेप एक खर्ब ६६ अर्ब र कर्जा एक खर्ब ५८ अर्ब रहेको छ । दि फिनान्सियल टाईम्स, लण्डनद्वारा बैंक अफ दि एयर एशिया २०२१ र बैंक अफ दि एयर नेपाल २०२१ बाट एनएमबी बैंकलाई सम्मानित गरेको छ ।
उक्त अवार्ड सेयरधनीहरुले समय समयमा बैंकलाई दिएको सुझाव एवं सल्लाह मुताविक भएको परिणामकोरुपमा लिँदै सम्पूर्णहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपाल कै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गर्दे आइरहेको छ ।
प्रतिक्रिया