अवरुद्ध संसदलाई सुचारु गराउन पहल गर्ने गठबन्धन बैठककाे निर्णय

नेपालखोज २०७८ पुष २३ गते १३:१३

काठमाडाैं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताए । संसद सुचारु गर्न सरकारको जति नै भूमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उनले बताए ।

उनले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मुल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ । र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ । र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ ।’

त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताए ।

प्रतिक्रिया