नेपालखोजका कार्टुनिस्ट मानन्धरसहित १६ जनालाई सम्मान (तस्बिरसहित)

नेपालखोज २०७८ पुष २३ गते १९:०८

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले नेपालखोजका कार्टुनिस्ट राजेश मानन्धरसहित १६ जनालाई सम्मान गरेको छ । संघले आफ्नो २०औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस २०७८ को अवसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । संघले प्रत्येक पुस २३ गते अरनिको स्मृति दिवस मनाउँदै आएको छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको प्रमुख आतिथ्यता तथा शताब्दी पुरुष सत्यमोहन जोशी एवं नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विधामा संघले १६ जनालाई पुरस्कृत गरेको हो ।

नगद र सम्मानसहित पुरस्कृत हुनेमा नेपालखोजका कार्टुनिस्ट राजेश मानन्धरसँगै सपना पौडेल, चन्द्रा श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, सविता डंगोल, स्व. गोविन्द खड्का (मरणोपरान्त), आलोक गुरुङ, विनोदकुमार गुप्ता, ठाकुरप्रसाद मैनाली, बालकृष्ण तुलाधर, स्व. पुरन खड्का (मरणोपरान्त) छन् ।

यस्तै सम्मानित हुनेमा अन्य कलाकारमा कलाकार एस.सी. सुमन (मिथिला लोककला), श्याम रञ्जित (व्यावसायिक कलाकार, निवेश आर्ट, बागबजार), राजकुमार प्रधान (व्यावसायिक कलाकार, शिव मिडिया टेकु), विश्वराज सिग्देल (व्यावसायिक कलाकार, विश्व आर्ट, हेटौंडा) र कलाकार हरिनारायण ठाकुर (व्यावसायिक कलाकार, हीरा आर्ट, हेटौंडा) लाई सम्मान गरिएको संघका महासचिव भोलानाथ पौड्यालले जनाएका छन् ।

प्रतिक्रिया