बिहीबार, जेठ २, २०८२

कोइला बालेर सुत्दा र ग्यास गिजरमा नुहाउँदा किन बेहोस भइन्छ ?

नेपालखोज २०७८ पुष २४ गते ११:२६

प्रमुख बालरोग विशेषज्ञ प्रा.डा.अजित रायमाझी अहिले कान्ति बाल अस्पतालमा निर्देशकका रूपमा कार्यरत छन् । प्राध्यापन पेसामा समेत आबद्ध डा. रायमाझीले लामो समयदेखि कान्ति बाल अस्पतालमा बिरामी बालबालिकाको प्रभावकारी उपचार सेवा गर्दै आएका छन् । जाडोमा बालबालिकाको स्वास्थ्यमा कसरी ख्याल गर्ने, चिसोका कारण नवजात शिशुमा पर्नसक्ने प्रभाव, कोइला बालेर बालबालिकालाई न्यानो राख्नु कत्तिको उचित हुन्छ, ग्यास गिजरले बेहोस हुनाको कारणलगायतको विषयको सेरोफरोमा रहेर नेपालखोजका लागि केशव भट्टराईले डा. रायमाझीसँग विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ डा. रायमाझीसँगको भिडियो वार्ता :

हाइलाइट्स :
–चिसोले बालबालिकामा रुघाखोकी लाग्न सक्छ, उनीहरूको शारीरिक वृद्धिमा असर गर्न सक्छ । मुटु र मिर्गौलासँग सम्बन्धित समस्या र कुपोषणका समस्या भएका बालबालिकालाई असर गर्छ ।
–बालबालिकालाई मुटुसम्बन्धी समस्या छ भने फोक्सोमा जीवाणुको संक्रमण भएर मुटुमा लोड बढ्ने हुन्छ । कमजोर भई मुटुले काम गर्न छोडे समस्या हुन सक्छ । विभिन्न रोगको जोखिमबाट बचाउन जाडोमा बच्चाहरूलाई न्यानो राख्नुपर्छ ।
–भर्खरै जन्मिएका शिशुहरूलाई सकेसम्म न्यानो बनाएर राख्नुपर्छ । टोपी लगाइदिनुपर्छ । यस्तै हातमा पञ्जा र खुट्टामा मोजा लगाइदिनुपर्छ । भोटो, सुरुवातलगायत लगाइदिनुपर्छ
–बच्चालाई न्यानो राख्न घरभित्र पनि न्यानो वातावरण बनाइनुपर्छ । तेल लगाउने हो भने प्रत्यक्ष घाममा नराखेर सिसा भित्रबाट घाम छिराएर तेल लगाउँदा राम्रो हुन्छ ।
–नवजात शिशुलाई ओल्टाइपल्टाई घाममा राखे जन्डिसलगायतको समस्या हुँदैन । दुई घण्टासम्म न्यानो घाममा राखे, बालबालिकाको शारीरिक बनावटको विकास, मानसिक विकासमा सहयोग पुग्छ ।
–स्तनपान नवजात शिशुको विकासको लागि अपरिहार्य छ । स्तपान हुनबाट बच्चालाई वञ्चित गर्नु हुँदैन । जाडोको बेला त बच्चालाई भित्री रूपमा न्यानो राख्न, शारीरिक विकासलगायत लागि स्तपानको धेरै नै महत्त्व छ ।
–कोइला बालेर बच्चा सेकाउने कामलाई निरुत्साहित गर्नुपर्छ । हिटर भए बाल्ने, नत्र ब्रिकेट बाल्न सकिन्छ । केही बालिरहेका छौं भने झ्याल–ढोका भने खुला राख्नुपर्छ ।
–कोइला र दाउराबाट कार्बन–मोनोअक्साइड निस्कन्छ र त्यसले मष्तिस्कमा असर गरेर हामीलाई बेहोस पार्न सक्छ ।
–कोइलाले त शरीरलाई न्यानो पार्नु हुँदैन नै, हिटर र ब्रिकेट बालेका छौं भने सबैजना सुत्नु हुँदैन । बरु सुत्न पालो गर्नुपर्छ ।
–मानिसहरूले ग्यास गिजर आर्थिक बचत हुन्छ भनेर प्रयोग गर्छन् । ग्यास गिजरभन्दा इलेक्ट्रिक गिजर तुलनात्मक रूपमा राम्रो हो । बिजुलीका गिजरमा आर्थिक भारचाहिँ बढी छ ।
–ग्यास गिजर प्रयोग गर्दा झ्याल ढोका खुला राख्नुपर्छ या पूर्ण रूपको भेन्टिलेसन बनाउनुपर्छ । ग्यास गिजरको ग्यासले पनि मष्तिस्कलाई धमिल्याउँछ । दिमागी सुस्तता बनाउँछ । अन्ततः बेहोस् भएर ढल्ने र मानिसको ज्यान जानेसम्मको समस्या भएको हो ।

प्रतिक्रिया