रेल परीक्षणमा होइन, चलेपछि सर्वसाधारणले विश्वास गर्ने

नेपालखोज २०७८ पुष २५ गते १४:१९

महोत्तरी । जयनगर–कुर्था खण्डमा रेल परीक्षण गरिएपछि नेपालमा रेल चल्ने चर्चा चुलिएको छ । शनिबार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिबास–जयनगर रेल्वे बिस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो ।

‘अब रेल चल्ने नै हो, सबै अवस्था ठिकठाक रहेको प्राविधिकको ठहर छ, एक महिनापछि ( फेब्रअरी१० तारिख) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति विश्वास गर्दैनन् ।

‘कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चलेछ भन्ने बुझौंला’, महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डलले भने ।

शनिबार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठिक रहेको बताएपछि महाप्रबन्धक झाले एक महिनापछि सेवा सञ्चालन गरिने बताएका हुन् ।महोत्तरीकै भंगाहा नगरपालिका ९ हरिनमरीकी गुलावदेवी साहले पछिल्ला तीन वर्षयता ‘रेल अब चल्छ’ भन्ने सुन्दासुन्दा हल्लाभित्रै हराएको जनाइन् ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमै रेल चल्ने कुरा सुनेकी साहले बुढ्याँइले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भन्छिन्, ‘अखैन सेहो आब किछे दिनमें रेल चलके वात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।’

भारतीय सहयोगमा अझै निर्माणधीन रहेको बर्दिबास–जनकपुरधाम–जयनगरदेखि भारतसम्मको ६९ किलोमिटर दूरीको रेल सेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ ।

प्रतिक्रिया