बिहीबार, जेठ ३, २०८१

सुरक्षित इन्टरनेट दिवस नेपालमा यसरी मनाइयो

नेपालखोज २०७८ माघ २४ गते १४:३१

काठमाडौं । ‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ आइतबार ‘सुरक्षित इन्टरनेट दिवस – २०२२’ मनाइएको छ । चेतना अभिवृद्धि गर्न, बालबालिका तथा युवा वर्गको लागि काम गर्न र संस्थाबीच सामूहिक शक्ति विकास गर्न दिवस मनाइँदै आएको छ ।

प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस विश्वका एक सय सत्तरीभन्दा बढी मुलुकमा मनाइन्छ । बालबालिका तथा युवाका लागि सुरक्षित इन्टरनेट संस्था चाइल्ड सेफ नेटले सन २०१९ देखि नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ । प्रविधिको सकारात्मक प्रयोग सम्बन्धी जानकारी तथा अनलाइन सुरक्षाका लागि सरकारी निकाय, विद्यालय, अभिभावक, सामाजिक संस्था साथै बालबालिका तथा युवाले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी दिइएको थियो ।

सुरक्षित इन्टरनेट दिवसको औचित्यबारे चाइल्ड सेफ नेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीले भने, ‘डिजिटल युगमा इन्टरनेटले हामीलाई ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको छ । सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरु अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिंग, साइबर ग्रूमिंग, छलकपट फिसिंग तथा सेक्स्टोर्सन यौनजन्य फिरौटी मा पर्ने जोखिम हुन्छ ।’

रघुवंशीका अनुसार बालबालिका तथा युवालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले सजगता तथा सक्रियता अपनाउनु आवश्यक छ । सुरक्षित इन्टरनेट दिवसले जनचेतना जगाउन र जिम्मेवार निकाय समक्ष अनलाइन सुरक्षा पैरवी गर्ने अवसर दिएको छ । बाल तथा युवा क्लबहरु, सामाजिक संस्थाहरु तथा विद्यालयले गत पुस महिना देखि देशका विभिन्न जिल्लामा सुरक्षित सूचना प्रविधिसम्बन्धी चेतनामूलक कार्यक्रम गरेका छन् ।

चाइल्ड सेफ नेटले डोटी, सुर्खेत, कास्की, सिन्धुपाल्चोक, काठमाडौँ, नवलपरासी जिल्लका विद्यालयमा अनलाइन सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गरेको थियो । सिर्जनशील संस्था, लवग्रीन नेपाल, होमनेट नेपाल, अम्ब्रेला नेपाल, बाल विकास समाज, वल्र्डभिजन इन्टरनेशनल नेपाल लगायतका संस्थाका साथै किशोरीहरुको रुपान्तरण समूह, काठमाडौँ जिल्ला बाल क्लब संजाल, स्थानीय निकाय, विद्यालयसंग सहकार्य गर्दै चाइल्ड सेफनेटले अनलाइन सुरक्षा सम्बन्धी रेडियो कार्यक्रम, निवन्ध प्रतियोगिता, बाल तथा युवाहरुबीच अन्तरक्रिया, हाजिरी जवाफ, भिडियो प्रदर्शन कार्यक्रम माघ र फागुनमा गर्ने भएको छ ।

सीवीन नेपाल, भ्वाइस अफ चिल्ड्रेन, वाइशर तथा बाल संरक्षणको लागि कार्यरत संस्थाले कार्यक्षेत्रमा अनलाइन सुरक्षाबारे चेतनामूलक कार्यक्रम संचालन गर्नेछ । सुरक्षित इन्टरनेटको लागि अभियानमा सहभागी हुन चाइल्ड सेफनेटले युवावर्ग, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, नीति निर्माता, सञ्चारकर्मीका साथै सर्वसाधारणलाई बोलाएको छ ।

प्रतिक्रिया