नाइजेरियामा लुटेराहरूको आक्रमण, २०० जनाको मृत्यु, हजारौं विस्थापित

अबुजा । लुटेराहरूको आक्रमणमा परि नाइजेरियामा मृत्यु भएकाहरूको संख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौं विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परि कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो ।
लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ । स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताए ।
घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । ‘विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,’ उनले भने । विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिए ।
नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले सङ्घर्ष गरिरहनु परेको छ । सरकारले उनीहरूलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन् । रासस/एएफपी
प्रतिक्रिया