‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रै सार्वभौम क्षेत्र हुन्’

नेपालखोज २०७८ पुष २६ गते १६:३१

काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता झलनाथ खनालले लिपुलेकमा भारतले गरिरहेको सडक विस्तारमा आपत्ति जनाएका छन् । आज एक वक्तव्य जारी गर्दै खनालले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ’भारत सरकारलाई राम्रोसँग थाहा छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र (भूमी) हुन् । नेपाल सरकारसँग कुनै परामर्श नै नगरी उक्त क्षेत्रमा कुनै पनि विकास निर्माणका काम गर्नु पूर्ण रुपमा गैरकानूनी तथा क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमिकताको उल्लंघन हो ।’

सत्तारुढ कै नेता खनालले सीमा क्षेत्रमा आफ्नो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । खनालले भने, ’हाम्रो भूमिको अखण्ता हनन् गरेर भइरहेको सडक निर्माण र भारतीय नेताको भड्काउपूर्ण अभिव्यक्तिको हाम्रो पार्टी घोर भर्तसना गर्दछ । सीमा क्षेत्रमा हाम्रो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

प्रतिक्रिया