बुधबार, जेठ २, २०८१

पृथ्वी जयन्ती र नेपाली कांग्रेस

लोकेश ढकाल २०७८ पुष २७ गते ८:०१

आज नेपाल राष्ट्र निर्माण गर्ने महान् योद्धा पृथ्वीनारायण शाहको ३०० औं जन्म-जयन्ती तथा राष्ट्रिय एकता दिवस हो । पृथ्वीनारायण शाह कै वीरता, शाहस र दूरदृष्टि कै कारण नेपाल राज्यको निर्माण भयो, जसको कारण आज हामी नेपाली भएको गर्व गरिरहेका छौं । कथित क्रान्तिकारी बन्ने र अग्रगमनका नाममा पृथ्वी जयन्ती नमनाउने निर्णय निश्चय नै गलत थियो ।

नेपाली कांग्रेस जस्तो महान् राष्ट्रवादी एवं ऐतिहासिक प्रजातन्त्रवादी दल कम्युनिस्टहरूको पछाडि लागेर यस्तो निर्णयको मतियार बन्नु दु:खदायी विषय हो । राष्ट्र निर्माण गर्ने पृथ्वीनारायणलाई सम्मान नगर्ने व्यक्तिले नेपाली हुनुको गर्व गर्न सक्दैन । उनका सन्तान निरंकुश भएको, जन विरोधी भएको सजायँ पृथ्वीनारायणलाई दिन खोज्नु अनर्थ हो ।

देशको राष्ट्रीयतालाई कमजोर बनाउने विदेशीको षडयन्त्रमा नेपालका राजनीतिक दलहरू फस्दै गएको परिणामले यस्तो भएको हो । पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रमा वसेर उनलाई सम्मान नगर्नेहरू नेपालको सत्तामा वस्नै नैतिक हक कति छ ? प्रश्न उठेको छ ।

मेरै नेताले सत्तामा वसेर पृथ्वीनारायण शाहको सालिकमा माला लगाउन जान्न भन्नु दु:खद कुरा हो । नेपाललाई जबरजस्तीसँग धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने, संघीय राज्य र गणतन्त्र घोषणा गर्ने विषयलाई संगसंगै राखेर हेर्न जरूरी छ । यस्तो अहम विषयमा जनताको मत र भावनाको विल्कुलै प्रर्वाह नगरी छिमेकी एवं विदेशी देश र शक्तिको योजनामा सबै भएको कुरा छर्लंग छ ।

क्रिसमसमा सार्वजनिक विदा दिने तर देश निर्माण गर्ने प्रति अपमान गरी दिँदै आएको सार्वजनिक बिदा दिने र राष्ट्रिय उत्सव मनाउने परंपरालाई बन्द गर्ने हाम्रो कस्तो राष्ट्रवाद हो ? २७ पौषमा पृथ्वीनारायण शाह प्रति सम्मान गर्दै उत्सव मनाउने र बिदा दिने कार्य सरकारले नगरे पनि आम जनताले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्ने छन्, गरिरहने छन् । यस अवसरमा राजा पृथ्वीनारायण शाह प्रति हार्दिक सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया