महासचिव वैद्यले भने- माओवादीसँग एकताको कुनै सम्भावना छैन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् । आज क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा(माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे । आफूहरुले वर्तमान राज्य सत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो ।
उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताएका छन् । ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने पनि बताए ।
त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो बिस्तारको काम जारी छ भनिराखेको भएपनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए ।
उनले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्तरुपमा उभिनुपर्ने आवश्यकता आंैल्याएका छन् । महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गरे ।

प्रतिक्रिया