नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन अवैतनिक राजदूतहरुको माग

काठमाडौं । नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र नीलो प्लेट नम्बरको सवारीसााधन भए केही सहज हुने भन्दै उनिहरुले सो माग गरेका हुन् ।
पोल्याण्डका लागि अवैतनिक राजदूत लोकमान्य गोल्छाले कुनै एक व्यक्तिको भुलका कारण अन्य अवैतनिक राजदूतहरुलाई कारवाही गर्न उचित नहुने भन्दै अवैतनिक राजदूतहरुलाई नीलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन माग गरे । उनले सरकारले अवैतनिक राजदूतहरुलाई उपलब्ध गराएको नीलो प्लेट नम्बरको सवारीसाधन नदिने सरकारको निर्णय व्यवहारिक नभएको गुनासो गरे ।
राजदूत गोल्छाले सरकारले सुधारका कुराहरुमा हरेक निर्णयमा ढिलासुस्ति गरिरहेकोले पनि कतिपय ठाउँमा समस्या भइरहेको र चार्टड फ्लाइटहरुको लागि पनि राजदूतावासकै अनुमति चाहिने भएकोले त्यसको ठाउँमा सल्लाहकारको अनुमति दिने व्यवस्था गरे काममा सहयोग पुग्ने बताए ।
त्यस्तै माल्टाका लागि नेपाली अवैतनिक राजदूत दिनेश श्रेष्ठले नागरिक समाज वा कुनै एउटा समूहले इष्र्या गरेर अवैतनिक राजदूतलाई सरकारले दिइरहेको नीले प्लेटको सवारीसाधनको सुविधा हटाउन नमिल्ने बताए । उनले आफूहरुले राज्यको हीत र इज्जतका लागिनै कम गरेकोले उक्त सुविधा खोस्न नमिल्ने बताए ।
सो सुविधाले अन्य देशका राजदूतहरु आउँदा र सरकारले बोलाउँदा नीलो प्लेटको सवारी प्रयोग गरिरहेको प्रष्ट पारे । राजदूत श्रेष्ठले यस विषयमा आफूहरुले परराष्ट्र मन्त्रालयलाई पुनः विचारका लागि पहल गरिरहेको र यस विषयमा मन्त्रालय पनि सकारात्मक देखिएकोले यसको छिनोफानो चाँडै टुंगिने बताए ।
राजदूत श्रेष्ठले अवैतनिक राजदूतलाई नीलो नम्बर प्लेटको सवारीसाधन उपलब्ध गराउँदा उक्त देशले नै नेपालको इज्जत गर्ने बताए । उनले सरकारलाई आफूहरुले अवैतनिक रुपमा सहयोग गरिरहँदा सरकारले पनि आफूहरुलाई सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया