प्रदेश २ को प्रदेशसभा बैठक माघ २ गते बस्ने

नेपालखोज २०७८ पुष २७ गते २१:३७

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक आगामी माघ २ गते बस्ने भएको छ । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भए पछि बैठक डाकिएको हो ।

बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरुबीच सहमति भएको छ ।

त्यस्तै, प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउन प्रदेशसभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो ।

सो समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि पुनः मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरुबीच सहमति भएको छ । सो समितिको पहलमा बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावलाई मतदानमै लैजाने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा,मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको सचिव यादवले बताए ।

प्रतिक्रिया