सबै दलका उच्च तहका नेतासँग राम्रो सम्बन्ध छ : आनन्दराज बतास

नेपालखोज २०७८ पुष २८ गते १४:३२

काठमाडौं । बतास अर्गनाइजेशनले ७ बुँदे विज्ञप्ति जारी गरेको छ । विवादमा तानिएका बतासका अध्यक्ष आनन्दराज बतासले जारी गरेका विज्ञप्तिमा कतिपय सञ्चारमाध्यमको पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको उल्लेख गरिएको छ ।

आज सार्वजनिक भएको विज्ञप्तिबाट आनन्दराजले विभिन्न माध्यमबाट प्रसारण भएको समाचारहरुप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले भ्रामक र कपोकल्पित समाचारहरु लेखेको भन्दै सञ्चारमाध्यमको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, आम नेपाली नागरिकलाई भ्रामक सूचनाबाट मुक्त राख्दै सही सत्य समाचार पस्कनुपर्ने जिम्मेवारी र दायित्व कतिपय सञ्चार माध्यमले पूरा नगरेको हुनाले सो दायित्व पूरा गर्न यहाँहरुलाई सहज होस् भन्ने उद्देश्यले यो विज्ञप्ति सार्वजनिक गरिएको छ ।’

प्रेस विज्ञप्तिमार्फत नेपाली सञ्चार माध्यमहरुलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै नभएको आनन्दराजले स्पष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरु छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाईजेशनप्रति यहाँहरुले अन्यथा रुपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ ।’

नारायणहिटी दरबार संग्रहालयका लागि सम्झौता गर्ने क्रममा बतास अर्गनाईजेशनले कुनै प्रकारको प्रभाव वा दबाव सिर्जना नगरेको आनन्दराजले बताएका छन् । उनले भनेका छन्, ‘सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरु प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरुका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया बोलपत्र स्वीकृत गरिएको सूचनासमेत गोरखापत्र दैनिकमा नै प्रकाशित भएपछि मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ साल पुष १७ गते सम्झौता भएको हो ।’

नारायणहिटि संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले एकतर्फि रुपमा पूर्वाग्रह भई प्रतिवेदन सार्वजनिक गरेको आरोप आनन्दराजले लगाएका छन् । नेपालका सबैजसो दलका उच्च तहका नेता, सरकारी सेवाका वरिष्ठ कर्मचारी, विभिन्न तह र तप्कामा रहेका व्यक्तित्वदेखि सर्वसाधारणसम्म अनेकौँ आयामका सकारात्मक सम्बन्ध रहेको बतासले स्वीकार गरेका छन् । स्वच्छ, पारदर्शी र स्वाभाविक सम्बन्धबारे आम रूपमा छरिएका भ्रमहरूमा भने कुनै सत्यता नभएको बतासले स्पष्ट पारेका छन् ।

आनन्दराजले अहिलेसम्म मिडियामा उठेका सबैखालका उत्तर विज्ञप्तिमार्फत दिएका छन् ।

प्रतिक्रिया