प्रतिनिधिसभा विघटन सामान्य घटनाका रुपमा लिन नसकिने : सीके राउत

भैरहवा । प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले बताएका छन् ।
आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे अध्यक्ष राउतले यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको बताएका हुन् ।
‘सरकारी पक्ष र विपक्षी सडकमा छन् । यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? यो आजको प्रश्न हो । करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?,’ उनले भने ।
नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको बताउँदै उनले भने–‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ । अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।’
अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा समेत जोड दिए ।
जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए । वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने उनले बताए ।
प्रतिक्रिया