यसरी गरिन्छ कोरोना संक्रमितको उपचार !

काठमाडौं । संसारले अहिले कोरोना भाइरसको नयाँ र तीव्र संक्रामक भेरियन्ट ओमिक्रोनको प्रकोपको सामना गरिरहेको छ । यसक्रममा स्वास्थ विज्ञहरुले पुराना गल्ती नदोहोर्याउन खासगरी इलाजको मामिलामा चेतावनी दिएका छन् ।
कोरोनाको पहिलेका दुई लहरमा बिरामीको उपचारका क्रममा हाइड्रोक्सिक्लोरोक्विन, प्लाज्मा थेरेपी, आइवरमेक्टिन, फेविपिरवीर, डोक्सिसाइक्लिन तथा एन्टिबायोटिक्सको प्रयोग व्यापक स्तरमा भएको थियो ।
त्यतिबेला यी सबै उपचारको प्रभावकारितालाई लिएर प्रश्न पनि उठेको थियो । अहिले के भनिँदै छ भने यी उपचारमध्ये कतिपयले त कोरोना भाइरसबाट प्रभावित बिरामीको उपचारमा कुनै भूमिका नै थिएन ।
कोरोनाको पहिलेका दुई लहरमा मानिसको ज्यान जोगाउन कुनै खास थेरेपीहरु प्रयोग भए । अहिले भने त्यो प्रयोगभन्दा माथि उठेर कोभिडको उपचारबारे तुलनात्मक रुपमा धेरै राम्रो र विस्तृत जानकारी उपलब्ध भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले आधिकारिक रुपमै प्लाज्मा थेरेपीको उपयोगविरुद्ध सिफारिस गरिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको नतिजा निकै अनिश्चित छ । यो थेरापीले न कोभिड प्रभावितलाई जीवित राख्ने सम्भावना बढाउँछ न त मेकानिकल भेन्टिलेसनको आवश्यकता नै कम गर्छ । यो महँगो र लामो समय लिने थेरेपी पनि हो ।
बितेका दुई वर्षमा कोभिडको उपचार निकै सरल भइसकेको छ । त्यसमाथि ओमिक्रोनको संक्रमण पुराना दुई भेरियन्टको तुलनामा हल्का मानिएको छ त्यसैले बिरामीको उपचार घरमै आइसोलेट गरेर, बिरामीका पुराना दीर्घरोग तथा कोरोनाविरुद्धको खोपको डोजका आधारमा गर्न सकिन्छ ।
रेम्डिसिबिर, मोलनुपिराबिर तथा प्याक्सलोबिडजस्ता एन्टिभाइरल (यो हाल नेपालमा उपलब्ध छैन) भाइरसले संक्रमित भएको सुरुवाती चरणमै दिइन्छ । यसको कारण संक्रमण नफैलियोस् भन्ने हो । रेम्डिसिबिर र मोलनुपिराबिर दुवैले एकै किसिमले काम गर्छन् । यी दुवै औषधिले बिरामीको शरीरमा भाइरसको वृद्धि रोक्न मद्दत पुर्याउँछन् ।
यद्यपि विशेषज्ञहरुले मोलनुपिराबिरको उपयोगलाई लिएर चेतावनी पनि दिएका छन् । भारतमा ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले यसको उपयोगलाई स्वीकृति दिए पनि आईसीएमआरले सुरक्षाका कारण राष्ट्रिय कोभिड उपचार प्रोटोकलमा समावेश गरेको । मोलनुपिराबिरका विषयमा कतिपय विज्ञहरु भन्छन् यो औषधि ठीक छैन किनभने हामीलाई यसको फाइदाका सम्बन्धमा केही जानकारी छैन बरु यसको दुष्प्रभाव नै बढी छ । यसको अत्यधिक उपयोग जोखिमपूर्ण छ त्यसैले यसको प्रयोगबाट जोगिनुपर्छ ।’
यता आईसीएमआरको चेतावनीका बाबजुद मोलनुपिराबिरको माग बढिरहेको छ । यसको दुष्प्रभावमा म्युटेसन क्षमतामा असर, मांसपेशी तथा हड्डीको क्षति, गर्भवती महिलाहरुको गर्भस्थ शिशुमा प्रभावजस्ता कुरा अगाडि आएका छन । यद्यपि डाक्टरहरुले थोकमा यो औषधिको प्री-अर्डर गरिरहेका छन् र बजारमा आएको एक साता नबित्दै यसको लाखौं चक्की खपत भइसकेको बताइन्छ । कतिपय चिकित्सकचाहिँ बिरामीलाई अस्पताल भर्ना हुन तथा मृत्युबाट जोगाउन संक्रमित भएको तीन दिनभित्र यो औषधि दिइनुपर्ने बताउँछन् । उनीहरु भन्छन् यो नयाँ औषधि हो त्यसैले यसको प्रयोग सावधानीपूर्वक गरिनुपर्छ ।
कोभिडको उपचारको दोस्रो चरणमा बिरामीको संक्रमण कम गर्न स्टेरोइड दिइन्छ । यो स्थिति तब हुन्छ जब बिरामी अस्पताल भर्ना भएर उसलाई अक्सिजन दिनुपर्ने आवश्यकता पर्छ । स्टेरोइडलाई लिएर पहिले पनि बहस भइसकेको छ र चिकित्सकहरुले यसको प्रयोग बिरामी अक्सिजन सपोर्टमा भएका बेला मात्र गर्छन् ।
स्टेरोइडको प्रयोग बिमार भएको दोस्रो सातामा डाक्टरको निगरानीमा मात्र गरिनुपर्छ । कोरोनाको दोस्रो लहरमा यसको अन्धाधुन्ध प्रयोग गरिएको थियो जसका कारण कतिपय बिरामीमा नकारात्मक असरसमेत देखिएको थियो ।
तेस्रो चरणमा बिरामीको रगत ढिक्का भएर जम्न सक्छ । यतिबेला संक्रमितलाई अस्पतालमा यस्ता औषधि दिइन्छ जसले रगतलाई जम्न दिँदैन यसलाई एन्जटिकोआगुलेसन भनिन्छ । कोरोनाका बिरामीको चौथो र अन्तिम चरणको उपचारमा बिरामीको आवश्यकताअनुसार उसलाई अक्सिजन उपकरणको मद्दतमा राखिन्छ । यतिबेला उसलाई एन्टिबडिजको ककटेल पनि दिइन्छ । यदि बिरामीको अवस्था चिन्ताजनक छ भने यो पहिले पनि दिन सकिन्छ ।
प्रतिक्रिया