शनिबार, जेठ ४, २०८२

दैनिक औसत पाँच घण्टा मोबाइलमा : कुन एपको प्रयोग बढ्यो ?

नेपालखोज २०७८ पुष २९ गते ७:३७

काठमाडाैं । मानिसहरूले औसतमा दैनिक ४.८ घण्टा मोबाइल फोनमा बिताउने गरेको एप एनी नामक एप निगरानी संस्थाले जनाएको छ ।

सन् २०२० मा यूकेको नियामक निकाय अफकमले टीभी हेर्नेसहित जोडेर गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालेको थियो । एप एनीको प्रतिवेदनमा सन् २०२१ मा विश्वभरि मोबाइल फोनमा कुल दुई खर्ब ३० अर्ब पटक एपहरू डाउनलोड गरिएको र एक खर्ब ७० अर्ब अमेरिकी डलर खर्च गरिएको जनाइएको छ ।

टिकटक विश्वमा सबैभन्दा बढी डाउनलोड गरिएको एप थियो जसमा सन् २०२० को तुलनामा प्रयोगकर्ताहरूले ९० प्रतिशत बढी समय बिताए । ‘ठूलो स्क्रीन बिस्तारै हराउँदै छ किनकि मोबाइलमा मानिसले दिने समय, गर्ने डाउनलोड र खर्च लगातार बढिरहेको छ,’ एप एनीका प्रमुख कार्यकारी थियोडर क्रान्जले भने ।

सन् २०२२ को उत्तरार्द्धमा टिकटकको मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ५० करोड पुग्ने आकलन गरिएको छ । मोबाइलका एपमा बिताइएको औसत समय चार घण्टा ४८ मिनेट थियो जुन सन् २०१९ को तुलनामा ३० प्रतिशतले बढी भएको एप एनीको ‘स्टेट अफ मोबाइल’ प्रतिवेदनमा जनाइएको छ ।

भारत, टर्की, अमेरिका, जापान, मेक्सिको, सिङ्गापुर र क्यानडासहित विश्वका १० प्रमुख देशहरूको तथ्याङ्कको आधारमा प्रतिवेदन निकालिएको हो । ब्रजिल, इन्डोनेशिया र दक्षिण कोरियामा भने मोबाइल प्रयोगको दैनिक औसत समय पाँच घण्टाभन्दा माथि छ । बीबीसी

प्रतिक्रिया