मंगलबार, वैशाख १६, २०८२

दाबी नपरेको निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०७८ पुष २९ गते १६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दावी नपरेको निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार इजाजतपत्र प्राप्त सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाममा सूचना जारी गर्दै दावी नपरेको निक्षेप विकास कोषमा जम्मा गर्न निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका, दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गनुपर्ने छ, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ ।

सूचनाअनुसार बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम २० वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोष (अन क्लेम्ड डिपोजिट) अन्र्तगत तोकिएको हिसावमा जम्मा गर्नुपर्ने छ । यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्वन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्वेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाहरुको हुनेछ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संंस्थाले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को प्रकृया पुरा गरी राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पुर्ण कानुनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्वन्धीत बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दावी पेस गर्नुपर्नेछ ।

आवश्यक कागजातसहित दावी पर्न आएमा सम्वन्धीत बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने छ । यसरी कोषमा राखिएको रकम बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ को व्यवस्थाअनुसार बैंकिङ विकासमा प्रयोग गरिने जानकारी राष्ट्र बैंकले दिएको छ ।

प्रतिक्रिया