डेढ महिनाभित्र नीजि क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने

काठमाडौं । सरकारले अबको डेढ महिनाभित्रमा नीजि क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले नीजि क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको तयारी गरिहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न गर्ने बताईन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलसँगको भेटमा ऊर्जामन्त्री भुसालले अन्तरदेशीय विद्युत् व्यापारमा नीजि क्षेत्रलाई अग्रसर गर्ने सोचसहित कार्यविधि तयार भइरहेको जानकारी दिईन् ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा नीजि क्षेत्रले सिधै विद्युत् बिक्री गर्न सक्ने गरी कार्यविधि तयार गर्ने उनले जानकारी दिईन् । उनले विद्युत् उत्पादनमा मात्रै नभइ प्रसारणमा समेत नीजि क्षेत्रलाई सहभागी गराउने उल्लेख गरिन् । उनले बंगलादेशसम्म विद्युत् निकासीका लागि सरकारले विशेष पहल गर्ने पनि उल्लेख गरिन् । मन्त्री भुसालले नेपालमा उत्पादन हुने विद्युतको मुख्य बजार भारत भएकाले नीजि क्षेत्रले पनि भारतमा बजार खोज्नुपर्ने बताईन् ।
छलफलमा मन्त्री भुसालले अर्ध जलाशययुक्त जलविद्युत आयोजना (पिकिङ रन अफदि रिभर) को विद्युत् खरिद सम्झौता (पिपिए) नरोकिने पनि बताईन् । छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्कीले नेपालमा उत्पादन हुने विद्युत् निर्यातका दुई महत्वपूर्ण गन्तव्य भारत र बंगलादेश भएको भन्दै दुवै दशेमा अलग–अलग उच्चस्तरीय संयन्त्रमार्फत विद्युत् व्यापारको काम अघि बढाउन खोजेको बताए ।
ऊर्जा मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बंगलादेशमा नवीकरणीय ऊर्जाको उच्चमाग रहेको बताउँदै नेपालमा उत्पादन हुने विद्युत् त्यहाँ निर्यातको वातावरण बनाइदिन आग्रह गरे ।

प्रतिक्रिया