नबिलले ४३ रुपैयाँमा एनबी बैंक किन्न गर्यो सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नबिल बैंकले प्रतिसेयर ४३ रुपैयाँमा नेपाल बंगलादेश बैंकलाई खरिद गर्ने सम्झौता गरेको छ । बिहीबार साँझ ६ बजे ललितपुर स्थित होटल भिभान्तामा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नबिल बैंकले बंगलादेश बैंकलाई खरिद गर्दा बंगलादेश बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले नबिल बैंकको ४३ कित्ता पाउने गरी सहमति भएको छ । एक्विजिसन पछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने भएको छ ।
नेपाल राष्ट्र बैंकको गाभ्ने गाभिने सम्बन्धी विनियमावलीअनुसार पनि डयू डिलिजेन्स गर्दा १० प्रतिशत तलमाथी हुँदा खासै फरक नपर्ने सहमतिपत्रमा उल्लेख छ । यसअनुसार सम्पत्ति र दायित्वको मूल्यांकन गर्दा केही तलमाथि भए पनि उही स्वाप अनुपात कायम हुनेछ ।
बंगलादेशी बैंक आइएफएआइसीको नेपाल बंगलादेश बैंकमा रहेको ४२ प्रतिशत सेयर नबिल बैंकका लगानीकर्ता तथा व्यवसायी विनोद चौधरीले किनेपछि खरिद प्रक्रिया औपचारीक रुपमा अघि बढेको थियो ।
चौधरीले आइएफआइसीको वंगलादेश बैंकमा रहेको सेयर खरिद गर्ने प्रक्रिया पुरा गरेसंगै केही दिन अघि मात्र संयुक्त मर्जर कमिटि गठन गरिएको थियो । मर्जर समितिको बुधबारको बैंठकले १०० बरावर ४३ को स्वाप अनुपात तय गरेपछि बिहीबार औपचारीक सम्झौता भएको हो ।
तर, काठमाडौं जिल्ला अदालतले बुधबार नै आइएफआइसीलाई तत्काल सेयर खरिद बिक्री प्रक्रिया रोक्नु भनेर आन्तरिक आदेश दिएको छ ।
प्रतिक्रिया