बिहीबार, वैशाख १३, २०८१

असम जाँदै गरेको रेल दुर्घटनाग्रस्त, मृत्यु हुनेको संख्या ९ पुग्यो

नेपालखोज २०७८ पुष ३० गते १०:२७

जल्पाइगुडी । भारतको पश्चिम बंगालस्थित जल्पाइगुडीमा रेल दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको । ३६ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

सिलिगुडी (जलपाइगुडी)बाट असम जाँदै गरेको ट्रेनको १२ वटा डिब्बा खसेका जनाइएको छ । दुर्घटनास्थलमा चार शव फेला परेका थिए । अन्यको अस्पतालमा मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पश्चिम–बंगाल राज्यको जल्पाइगुडी जिल्लामा बिकानेर–गुवाहाटी एक्सप्रेस रेल दुर्घटनामा परेको हो । गुड्दै गरेको रेलका डिब्बा उत्तरपूर्वी फ्रन्टियर रेलवेको अलिपुरद्वार डिभिजन अन्तर्गत डोमोहानी नजिकै खसेका छन् ।

केन्द्रीय मन्त्री जोन बारलाले उद्धार कार्य सकिएको र घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् । रेल दुर्घटनाको कारणका सम्बन्धमा भारतको रेल्वे विभागले छानबिन गर्ने भएको छ । रेलमा १ हजार ५३ यात्रु थिए ।

तीन दिनको यात्राका क्रममा दुर्घटना भएको रेल २ घण्टा ४१ मिनेट ढिलो चलिरहेको थियो । बुधबार राति बिकानेरबाट छुटेको रेल आज (शुक्रबार) बिहान गुवाहाटी पुग्ने समयतालिका थियो ।

प्रतिक्रिया