बुधबार, वैशाख १२, २०८१

सूर्यको पर्व : माघे संक्रान्ति

सुनील सापकोटा २०७८ माघ १ गते ७:५३

नेपाली भाषामा माघे संक्रान्ति वा हिन्दीमा मकर संक्रान्ति हिन्दुहरुको एउटा महत्त्वपूर्ण चाड हो । यो पर्व भारत र नेपालमा बडो धुमधामका साथ मनाइन्छ । ईश्वर वा देवताको अस्तित्वलाई स्वीकार गर्नु पर्दा म सूर्यलाई चाहिँ एउटा ग्रहका रुपमा मात्र नमानेर एउटा साक्षात् ईश्वर वा देवताको रुपमा मान्छु ।

किनभने सूर्यबिना पृथ्वीमा जीवनको कल्पना गर्न सकिँदैन । त्यसैले यो हाम्रो आकाश गंगामा स्थापित यो हाम्रो सूर्यको भूमिका र महत्त्व बुझ्दै पृथ्वीमा पर्यावरण सन्तुलन कायम राख्दै सूर्यको आराधना गर्दै त्यस्को अस्तित्वप्रति मानिसहरुले आभार व्यक्त गरुन् र खुसियाली मनाउन भन्ने हाम्रा ऋषिमुनि र पूर्वजहरुले यो पर्वको सुरुवात गरेका हुन् । हुन त मकर संक्रान्तिमा अनेकौं अनेक धार्मिक किम्वदन्ती र कथा जोडिएका छन् ।

यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ अर्थात् यो दिनदेखि सूर्यको गति दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्छ र दिन लामो र रात छोटो हुँदै जान्छ। हिन्दु धार्मिक मान्यताअनुसार माघे संक्रान्तिदेखि सूर्य उत्तरायण हुँदा यो ६ महिनाको अवधिमा शरीर त्याग गर्नेहरु पुनर्जन्मको बन्धनबाट मुक्त हुन्छन् ।

साधारण मानिस जसलाई न धर्मको, न ज्योतिषको, न खगोलशास्त्रको ज्ञान छ, न कुनै मोक्षको चाहना उनीहरुले यो दिनको खासै महत्त्व बुझ्दैनन् । यद्यपि सर्वसाधारणले पनि यो पर्व तिलको लड्डु, तरुल, चाकु, खिचडी आदि खाएर मनाउँछन् । माघे संक्रान्तिको सबैमा शुभकामना ।

प्रतिक्रिया